पुष्पा पौडेल
गुल्मी नेपाल, हाल: कनेक्टिकट अमेरिका ।
हरिया जति छन् जम्मै, हिमाली क्षेत्रको मुनि,
पखेरामा सधै झुल्ने लहरा सब हुन् बुटी ।
पहाडी भेगका फूल, जरा,बोक्रा र मन्जरी,
औषधि हुन् सबै हाम्रा, पाइन्छन् कति हो कति ।१।
लेउ, झ्याउ सरी कोहि, किरा जस्ता कतै कतै,
ढुङ्गा झैं छन् कतै फेरि पहरामा हुने कतै ।
यस्ता औषधिका बोट डाँडा पाखा वरिपरि ,
कति हो कति भेटिन्छन्, यत्रतत्र सधै भरी ।२।
खोजी पत्तालगाएका, थे ऋषि मकरध्वज ,
आयुर्वेद भनी जान्ने, बनाए औषधि सब ।
मकरध्वजको शास्त्र, थोरै मात्र सिके पनि,
नेपालीहरूको निम्ति, फाइदा कति हो कति ।३।
चुत्रो, टिमुर, गुर्जो छन्, पाँच औले, बकाइनो,
अगेरी, धाइरो, उन्न्यु,सर्पगन्धा तपाईंको ।
लौठसल्ला, बिरेनून,अमला, जाइफल जति,
हर्रो, बर्रो, पुदिना छन्, घरैको छेउमा कति ।४।
आयुर्वेद पढौं हामी, जोगाऔं बिरुवाहरू,
औषधि गुणका बोट, खोजी ल्याऔं अझै बरू ।
आफनो स्वास्थ्य सपृन्छ, बेचेर धन सम्पत्ति ,
प्रशस्तै आर्जनी हुन्छ, पुर्खाको घरमै बसी ।५।
-अनुष्टुप छन्द