केशव शर्मा दाहाल
बाटोमा बसेर मकै पोल्दै
जीवन निर्वाह गर्ने ती
पल्लाघरे आमालाई सम्झेर
म मेरी आमाको परिचय
खोजीरहेको हुन्छु ।
बसमा सयर गर्दा
काँक्राको चिरा किन्दिन
झ्याल र ढोकासम्म आएर
बिन्ति गर्ने
दाजुभाइ सम्झेर
म मेरा दाइ भाइको परिचय
सोधीरहेको हुन्छु ।
कृषि पेसामा सुखी जीबन
बिताएका बुबा आमाले
छोरा छोरीलाई अमेरिका, अस्ट्रेलिया
तिर पठाउने सपना बुन्दै गर्दा
म मेरा बा आमाको बुढेसकालको
साहारा खोजीरहेको हुन्छु ।
जन्माउछ, हुर्काउछ र पढाउँछ देशले
र पनि देशले के दियो भनी परदेशी बनेर
बिलिन हुने तमाम युबा शक्तिको सपनामा
म मेरो सपना खोजीरहेको हुन्छु ।
यहाँ आफैलाई बिर्सी रहेको बेला
सबैले जस्तो मैले पसिना बेचिरहेको बेला
म अझै पैसालाई नै रोजी रहेको हुन्छु
आखिर सपनै सपनाको जेलभित्र फसिसके म
आशा छ मर्ने बेला मेरो देशको परिचय खोजीरहेको हुन्छु ।
आशा छ मर्ने बेला मेरो देशको परिचय खोजीरहेको हुन्छु ।