कृष्ण कंडेल
उनको मात्र हैन रैछ मायाँ जताततै,
जुनको पनि लाग्छ मायाँ, पूर्णिमाको रातै ।
उडी हिंड्ने पुतलीको मायाँ कति कति,
जीवनको मायाँ लाग्छ ,चिन्ता छैन रती ।
मायाँ लाग्छ च्यातिएको उधृएको लुगाको नि,
कालो जुङ्गा मात्र हैन्, फुल्दै गको जुँगाको नि!
रित्तिएको बोत्तलको नि मायाँ लाग्छ मलाई,
उनको मायाँ गर्छु आखिर ,मेरै मन जलाई !
उनले दे’को बुट्टे रुमाल मायाँ बोक्ने थाली,
बाँचुञ्जेल सम्झाना छ, मरे संसार खाली ।
फूलले सोध्छ भमरा लाई, मायाँ छ कि छैन,
उनको मायाँ बिना मलाई छैन खासै चैन ।
भन्नेहरु भन्छन अरे कुरा बनाई बनाई
एक्लै पनि बाँच्न सक्छु पुरानो भो भनाइ !
मायाँ बिना न त निन्द्रा ,न त लाग्ने भोक ,
आखिरीमा मायाँ नै पो रैछ सबै थोक ।