स्व. लक्ष्मी भट्टराई ओझा
वेष्टहार्टफोर्ड,कनेक्टिकट, अमेरिका
छोरो काम महाँ छ नाति नातिना घरमा बुहारी दोकानमा
कैल्यै फुर्सद छैन व्यस्त छन् सबजना भन्छन् अनि स्वर्गमा ।
हर्दम काम कमाई रैछ सबको दिनरात भुल्छन् जहाँ
जान्छन् त्यै सुख मिल्छ शान्ति सबले रोज्दै त्यहि लोकमा ।।
नाति नातिनालाई खुवाई पिलाई खुसीले बस्दैछन कार्सिटमा
भान्सामा अब पस्नु पर्छ खुसीले लाग्नु छ कर्तब्यमा।
भोका छन् ती थकानले थकित भै फिर्छन् बिचै रातमा
माया लाग्छ कठै कसरी तिनले आराम पाए यहाँ?
सारा सम्पतिको म मालिक थिएँ छोरो गयो देशमा
मिल्ला शान्ति भनेर भेट्न म हिंडे बुझ्दैछु परदेशमा।
आफु खाई नखाई सम्पति भरें त्यै पुत्रका नाउँमा
त्यसैलाई अब चाहिदैन त्यति रे के गर्नु त्यो धन् उहाँ।।
घरकी लक्ष्मी समान पत्नीसँगमा बस्दा खुसी भैकन
बस्ने फुर्सद थ्येन खाली म भुले सम्पति नै आर्जन।
छोरी गुणवती शीला र शुशिला घरका तिनै लच्छिन
माया स्नेहलता र प्रेम सरिता खेल्थे त्यहि आँगन।।
फुलबारी घर आँगनी र घरका कोठा र कौसीमहाँ
हाँस्थे छोरीहरू मलाई किन हो लागेन सन्तोष त्यहाँ।
छोरो खोजी म हिंड्दथें हरघडी संसार जाहाँताहाँ
छोरो छोडी हिंड्यो चटक्क परदेश आउदैछ झल्को यहाँ।।