पशुपति पराजुली “सालघारी”
भोजपुर, चराम्बी नेपाल, हाल : कनेक्टिकट, अमेरिका !!!
सगरमाथा भन्दा अग्लो आस्था,
महासागर भन्दा गहिरो विश्वास बोकेर
नयाँ बर्ष आउँदैछ सबैको घर आँगन मा ।
धैर्य गरौँ अब केही छिन,
रात ढलीसकेको छ अघि नै
र , कोईलीले एक नयाँ बिहानी ब्युँझाई सक्यो
त्यही बिहान् छितिजमा देखिना साथ
सबैको ओठमा मुस्कान छाउनु पर्छ
उन्नति र समृद्धि का गीत गाउनु पर्छ ।
हिजो जे भयो भई नै सक्यो
भोलि हुने कुरा राम्रैका लागि हुन पर्छ ।
अत्तिनु हुँदैन बाँच्न लाई
मात्तिनु हुँदैन हांस्न लाई
नहुने कुराहरु पन्छाएर
आफू सधैं धर्मशील बन्नु पर्छ
सधैं सधैं कर्मशील बन्नु पर्छ ।
किन भने
कर्ममा नै आफ्नु भाग्य लुकेको हुन्छ
र, पसिनामा नै नव सिर्जना छिपेको हुन्छ ।
अव,
भोलिको सुनौलो समृद्दिको सपना बोकेर
एक जुट होऔं आजको नयाँ बर्षमा,
किन कि ,
नयाँ बर्षले निर्माणको बिपना लिएर आएको हुन्छ
अनि, शान्ति र समुन्नतिको शुभकामना लिएर आएको हुन्छ ।