यज्ञ पौडेल,
गुल्मी – नेपाल, हाल कनेक्टिकट – अमेरिका ।
गुणनै सबको छुट्टै, चिनिने पहिचान हो,
आ-आफ्ना गुणले मात्रै, भिन्न बन्छ सबै जसो ।
गुणको मात्र गर्नेछु, चर्चा बिस्तारमा यहाँ ,
गुणको भिन्नताले नै, पन्चतत्व बन्यो जहाँ ।१।
ढुङ्गा चट्टानले धान्छ, धरणी यो सधैभरी,
माटोमा उर्वरा हुन्छ, जलमा वाष्प त्यै गरी ।
वाफ नै मेघ हो बन्ने, मेघ बर्षात बन्दछ,
धरणी उर्वरा बन्छिन्, जब बर्षात बग्दछ ।२।
कागती उखु खुर्सानी, रोपियो संसगै भने,
अमिलो गुलियो पिरो, आ-आफ्नै गुण हुन् दिने ।
गाईले हरियै खोज्छ, जस्तै सुख्खा परे पनि,
भोकले लत्रिदो बाघ, खान्न घाँस कवै पनि ।३।
मान्छे चेतनको दीप, मान्छेका गुण धेर छन् ,
मान्छे नै शृजना शक्ति, गुण सागर बन्छ मन् ।
गुण नै गुणको थुप्रो, बन्नु पर्दछ मानव ,
गुण ले बन्छ सन्सार, गुण भ्रष्टादि दानव ।४ ।
उपकार गरी रम्नु, सुख दुःख बराबरी ,
अरुको दुखने घाउ, आफ्नै ठान्नु सधैभरी ।
घोचने, तिक्त भाषामा, बोल्नु हुन्न कतै पनि ,
बोली नै हो सबैभन्दा, उच्च आदर्श को धनी ।५।
घमण्डी हुनु नै हुन्न, ज्ञानी बन्नु सकेजती,
ज्ञान बाँडेपछी बढ्छ, थुप्रिन्छ कति हो कति ।
विद्यार्थी हो सधै मान्छे, सिक्न खोज्नु सबै संग,
“जान्ने छु” नभने मात्रै, सिकाइ बढ्छ झन् अझ ।६।
बोल्ने केहो ? नबोल्ने के ? खाने के ? खान हुन्न के ?
गर्ने के हो ? नगर्ने के ? हेर्ने के ? हेर्नू हुन्न के ?
म को हँ ? गर्नु पर्ने के ? के गर्दै छु अझै यहाँ ?
उपकार हुने के हो ? पाप-धर्म हुने कहाँ ? ७ ।
रीसले गर्छ के कस्तो ? क्रोध आउछ के गरी ?
लोभ-लालच हुन् कस्ता ? ईर्ष्या बढ्छ कसोगरी ?
मान्छेको गुणले मात्रै, बुझ्न सक्छ सबै कुरा,
गुण भण्डारीने बस्तु हैन, हो भावना पुरा ।८ ।
सूर्यको गुणले सारा, जग-सन्सार तात्दछ,
धराको गुणले सारा, श्रृष्टि लाई सिँगार्दछ ।
जडले आफनो गुण, छोडेको छैन क्यै पनि,
मान्छेका गुण देखिन्नन्, हुनुपर्ने कतै पनि ।९।
क्षमताले सके सम्म, उपकारी बनौं सब,
अरुको दुखमा पट्टी, मिलेरै गर्नु पर्दछ ।
साँघुरो मनको दैलो, उघारेर बसेपछि ,
सबैको दिलमा बास, बस्न मिल्छ मरेपछि ।१०।
(अनुष्टुप छन्द )